राजधानी र काठमाडौंको वरपरको क्षेत्रमा सोमबार साँझ भीषण हावाहुरी र वर्षा हुँदा दर्जनौं सवारीसाधन क्षतिग्रस्त भएका छन्।
हावाहुरीका कारण राजधानीको दर्जनौं स्थानमा रूखहरू ढल्दा रूखले थिचेर दुई दर्जनभन्दा बढी सवारीसाधन क्षतिग्रस्त भएका थिए। सोमबार साँझ करिब ७ बजे आएको हावाहुरी र असिना वर्षाको कारण चाबहिल, गौशाला, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, बालुवाटार, लाजिम्पाट, लैनचौरलगायत स्थानमा करिब एक घण्टा सवारी अवरुद्ध भएको थियो।
रत्नपार्कमा पनि एउटा माइक्रोको सिसा फुटेको छ। असिनाका कारण त्रिपुरेश्वरमा एकजना बेहोस भएका थिए। नक्साल र पुतलीसडकमा होर्डिङबोर्ड ढलेको थियो। भीषण हावाहुरी चले तापनि राजधानी र वरपरका क्षेत्रमा मानवीय क्षति नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाप्रमुख विनोद सिंहले बताउनुभयो। हावाहुरीका कारण ललितपुर र भक्तपुरमा भने असर नपरेको प्रहरीले जनाएको छ।
Source: News of Nepal